संक्षिप्त परिचय

नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने भगवान गौतम वुद्धको जन्मस्थलको रुपमा परिचित लुम्विनी अञ्चलका ६ जिल्लाहरु मध्ये पाल्पा पहाडी जिल्ला हो । विश्व मानचित्रमा यस जिल्ला २७ डि.३४ मिनेट, देखि २७ डि. २७ मि. सम्म उत्तरी आक्षांस र ८३ डि.१५ मि. देखि ८४ डि.२२ मी. सम्म पूर्वी देशान्तरमा अवस्थित छ । १३७३ वर्ग कि.मी. क्षेत्रफल भएको जिल्लाको पूर्व पश्चिम ७० कि.मी. र उत्तर दक्षिण सरदर २० कि.मी. भएकोले सानै रुपमा भए पनि झण्डै नेपाल जस्तै देखिन्छ । क्षेत्रफलको हिसावले यस जिल्लाले नेपालको कूल भू–भागको ०.९३ प्रतिशत भू–भाग ओगटेको छ । जिल्लाको पूर्वमा नवलपरासी, पश्चिममा गुल्मी अर्घाखाँची उत्तरमा स्याङ्गजा गुल्मी र दक्षिणमा रुपन्देही रहेको छ । सरदर तापक्रम ८ डि.से. देखि २८ डि.से. सम्म हुनाले पाल्पा जिल्ला हावापानीको हिसावले वसोवासका निम्ति अत्यन्त उत्तम छ । सरदर वार्षिक वर्षा १९०३.२ मि.मी. हुन्छ । चुरे पहाडमा १८ प्रतिशत र महाभारत श्रृंखलामा ८२ प्रतिशत भू–भागले गर्दा जिल्लाको अधिकांश पहाडी भूवनोटको कारण विकट छ । रामपुर, माडी, अर्गली, कचल, दर्पूक जस्ता फाँट र काली गण्डकीका तट वाहेक अन्य भाग कृषि उत्पादनका लागि कम उपयुक्त छ ।
मुख्य वनस्पतीमा साल, सिसौ, सिमल, जामुन, टुनी, चाप, हर्रो, वर्रो आदि वेसी तथा चुरे क्षेत्रमा पाइन्छ भने काफल, चिलाउने, कटुस, सल्लो, लालीगुराँस आदि लेक तथा महाभारत श्रृंखलामा पाइन्छन् ।
कालीगण्डकी मुख्य नदी हो जसले लुम्विनी र गण्डकी अंचलको सिमा नदीको काम गरेको छ । यसका अतिरिक्त जिल्लामा रिडीखोला, तिनाउखोला, निस्दीखोला, आरुङखोला, दोभानखोला, कुसुमखोला, वराङ्गदीखोला, कुरुङखोला, अगाँहाखोला, पूर्वखोला, झुम्साखोला जस्ता साना ठूला नदी तथा खोलाहरु छन् । सत्यवती ताल, सीता कुण्ड र प्रभासताल यस जिल्लाका मुख्य ताल तथा कुण्डहरु हुन् ।
सेनवंशी र मगराँती पृष्ठभूमि वोकेको पाल्पा जिल्लालाई इतिहास, कला, शिक्षा, संस्कृति, रहनसहन र सभ्यताको धनी मानिन्छ । राणाकालीन चार कमाण्डरहरु मध्ये एक रहने अहिलेको लुम्विनी अंचल भन्दा ठूलो प्रशासनीक इकाईको रुपमा रहेको र सुदुर पश्चिमका जनताले समेत गल्ती गरेमा पाल्पा चलान भन्ने गरेवाट यो पश्चिम नेपालकै राजधानीकोरुपमा रहेको पुष्टि हुन्छ ।
२०६८ सालको जनगणना अनुसार जिल्लाको घरपरिवार संख्या (संस्थागत समेत) ५९२९१ र जनसंख्या २६११८० मध्ये पुरुष ११५८४०(४४.३५%) र महिला १४५३४० (५५.६५%) रहेको छ ।
वार्षिक जनसंख्या वृद्धि दर –०.२८ प्रतिशत देखिन्छ । जनघनत्व १९० प्रति वर्ग कि.मी. छ । राजनीतिक रुपमा ६० गाविस, २ नगरपालिका, १३ इलाका र ३ संसदीय निर्वाचन क्षेत्रमा विभाजित यस जिल्लामा २०६८ सालको जनगणना अनुसार जातिगत रुपमा मगर ५२.३९%, ब्राम्हण १७.४६%, क्षेत्री ७.९०%, कामी ६.७२%, नेवार ३.४६%, सार्की ३.१८%, कुमाल २.६०%, दमाई १.९५%, ठकुरी १.४६%, घर्ती ०.६२% र अन्य २.३४% रहेको छ । भाषागतरुपमा ६२.०८% नेपाली, ३३.९२% मगर, १.९७% नेवारी, ०.६२% कुृमाल, ०.२६ % बोटे, ०.२३% उर्दु र ०.९२% अन्य भाषाभाषी छन । धार्मिक हिसाबले ९०.५२% हिन्दु, ७.८२% बौध, ०.४७% ईस्लाम, ०.८८% क्रिश्चियन र वाँकी ०.३२% अन्य धर्मावलम्वीहरु रहेका छन् । जिल्लाको साक्षरता दर ७६.२२% रहेको छ । जसमध्ये पुरुष ८४.८८% र महिला ६९.५२% पर्दछ ।

विश्वमा परिचित पर्यटकीयस्थल पोखरा तथा धार्मिकस्थल लुम्विनीको विचमा अवस्थित पाल्पाको सदरमुकाम तानसेनको पर्यटकीय महत्वको कारणले गर्दा तानसेन नगरपालिका नमूना शहरको रुपमा मानिन्छ । यसै शहरको मुकुटको रुपमा रहेको श्रीनगरडाँडा प्राकृतिक छटाले भरिपूर्ण छ जहाँवाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण जस्ता विश्व प्रसिद्ध हिमश्रृंखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । आफ्नै भाषा र संस्कृतिले धनी मगर जातिको बाहुल्य रहेको र अन्य प्राकृतिक सौन्दर्यले समेत ग्रामीण पर्यटनको पनि त्यत्तिकै सम्भावना देखिन्छ । सत्यवती ताल, भैरवस्थान, नारायणस्थान, ऋषिकेश मन्दिर, रम्भादेवी, भगवती स्थान, अर्गली, रानीघाट, गोखुङ्गा, रिम्घालेक, रिव्दीकोट, हात्तीलेक, बल्ढेङगढी जस्ता ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको छुट्टै महत्व रहेको छ ।
जिल्लाले आधुनिक कृषि प्रणालीको माध्यमबाट आर्थिक विकासको निम्ति विभिन्न प्रयासहरु गर्दै आएको छ । पर्यटन, व्यावसायिक ढाका र करुवा तथा भाडाबर्तन निर्माणका उद्योगहरुले यस जिल्लाको आर्थिक विकासमा केही हदसम्म टेवा पु¥याउने गरेका छन । राज्यका विविध सेवामा माथिल्लो स्थानमा जिल्लावासीहरु रहेता पनि भारत र खाडी क्षेत्रमा रोजगारी नगरी अधिकांश युवाहरुले आफ्नो परिवार चलाउन नसक्ने तीतो यथार्थ पनि विद्यमान छ । त्यसैले आधुनिक तथा व्यावसायिक कृषि प्रणाली, मानव संसाधनको विकास, व्यावसायिक तालीम तथा शिक्षा, उन्नत पशुपालन आदिलाई प्रवद्र्धन गर्नु वर्तमान आवश्यकता वनेको छ ।
सिद्धार्थ राजमार्गले यस जिल्लाको विकासको ढोका खोलेको छ । यसका अतिरिक्त आर्यभंज्याङ्ग–रामपुर, वाँसटारी–झडेवा, तानसेन–दर्लमडाँडा, हार्थोक–छहरा र तानसेन–रिडी जस्ता जिल्ला सडकहरुले पाल्पाको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् । सरदर ५८.६६ प्रतिशत घरधुरीलेमात्र विद्युत सेवा उपलप्ध गरेका छन । हाल सिडीएमए र मोवाइल सेवाले जिल्लाका अधिकांश गा.वि.स.हरुमा टेलीफोन सेवा उपलव्घ हुन थालेको छ । जिल्लाको विकासको लागि कृषि, यातायात, विद्युत, संचार, पर्यटन, शिक्षा, स्वास्थ्य, आदि सम्पूर्ण कुरामा जिल्लाको प्रयासमा केन्द्रको समेत सहयोग अपरिहार्य रहेको छ|


Skip to toolbar